Wednesday, March 17, 2010

कहाँ छन देशप्रेमी ?, भारतमा बन्दै छ लुम्बिनी

केहि समयअघि ब्लगर दाजु K.P. ढुंगानाको ब्लगमा पढेको थिएँ "गुगलम्याप भन्छ : बुद्ध भारतको"| उहाँले गूगलम्यापमा कसैले edit गरेर यस्तो गरेको र यो बदमासी भएको भनेर लेख्नु भएको थियो तर आज नयाँ पत्रिकाको खबर पढेपछि लग्यो यो त भारतको खेल नै पो रहेछ | नयाँ पत्रिकामा लेखिए अनुसार भारत सरकारले नै उत्तरप्रदेशको अलिगढ़ावामा धमाधम नक्कली लुम्बिनीको निर्माणकार्य गरिरहेको छ| सरकारमा रहुन्जेल केहि नबोल्ने अनि सरकारबाट बाहिरीइसकेपछी चाहिँ सिमास्तम्भ जाच्न जाने माओबादीका देशप्रेमी नेताहरु अहिले कहाँ छन् कि निदाए ??अनि वर्तमान सरकार वर्तमान परिप्रेक्ष्यमा आफ्नै (कुर्सिको) ठेगान छैन भारत पनि रिसायो भने त के गर्नु त्यै भएर निरिह सरकार वर्तमान परिप्रेक्ष्यमा तैं चुप मै चुप| अब भारतको यो कार्यको बिरोध कसले गर्ने ? पढ्नुहोस नयाँ पत्रिकाको समाचार जस्ताको तस्तै:

भारतमा बन्दै छ लुम्बिनी

नयाँ पत्रिका
अलिगढवा (भारत), ३ चैत
बुद्ध भारतमा जन्मिएका हुन् भनेर किताब छाप्ने भारतले अब नक्कली लुम्बिनी र तिलौराकोट पनि बनाउन थालेको छ । बुद्धको जन्मस्थलसम्बन्धी सबै विश्वमान्यता परिवर्तन गर्न भारतले उत्तरप्रदेशको अलिगढवामा धमाधम निर्माणकार्य गरिरहेको छ ।
नेपालको कपिलवस्तुसँग सीमा जोडिएको अलिगढवामा नक्कली कपिलवस्तु निर्माणकार्य अन्तिम अवस्थामा छ । उत्तरप्रदेशको सिद्धार्थनगर जिल्लाअन्तर्गत पीपरहवा क्षेत्रलाई भारतले कपिलवस्तु नामकरण गरेर बुद्ध भारतमै जन्मिएका हुन् भन्ने प्रमाणित गर्न खोजिरहेको छ ।
विश्वशान्तिका अग्रदूत सिद्धार्थ गौतमबुद्धले भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेका भए पनि उनको जन्म नेपालको लुम्बिनीमा भएको थियो । उनी तिलौराकोटमा राजा शुद्धोधनको दरबारमा जन्मिएका थिए ।
तर, भारतले भने शुद्धोधनको दरबार तिलौराकोट, गौतमबुद्धको मावली देवदह र उनको जन्मस्थल लुम्बिनी सारा भारतमै बनाउन थालेको छ । अलिगढवामा बुद्धसित सम्बन्धित विभिन्न निर्माणकार्य तीव्र गतिमा भइरहेका छन् । निर्माणकार्यमा ट्रयाक्टरमात्र होइन, ५० औँ मजदुर खटिएका छन् ।
नक्कली लुम्बिनीको सुरक्षार्थ खटिएका अलिगढवाका राकेश भारतीले बुद्ध नेपालमा होइन, भारतमै जन्मिएको दाबी गरे । उनका अनुसार त नेपालले भारतीय सम्पदाको नक्कल गरेर लुम्बिनी र तिलौराकोट बनाएको हो । 'बुद्धसँग सम्बन्धित धेरै प्रमाण भारतसँग छन्, नेपालले त नक्कल गरेको हो । अब भारतले बुद्ध गन्तब्यलाई थप आकर्षक बनाउँदै छ त के खराबी भयो ?' उनले भने ।
माइतीबाटै र्फकंदै गरेकी आमा मायादेवीको कोखबाट बाटोमै (लुम्बिनीमा) जन्मिएका बुद्ध २९ वर्षको उमेरमा दरबार छाडेको नेपाली संस्कृतिविद्हरूको दाबी छ । 'हामीलाई त थाहा भएन, देवदह, तिलौराकोट र लुम्बिनी सारा यतै बन्दै छन्' अलिगढमा काम गर्दै भेटिएका भारत नौगढका एक मजदुरले भने ।
निर्माणमा खटिएका मजदुरका अनुसार सन् २०१२ भित्र देवदह र लुम्बिनीसहित नक्कली कपिलवस्तुले अन्तिम रूप लिँदै छ । भारतीय योजनाअनुसार आगामी दुई वर्षभित्र निर्माण पूरा गर्न करोडौँ रुपैयाँ खर्च भइसकेको छ ।
नक्कली निर्माणलाई सक्कली प्रमाणित गर्न भारतले देवदह, लुम्बिनी र तिलौराकोटका भग्नावशेषलाई पनि नक्कल गरेको छ । यताका भग्नावशेषका इँटा, माटोका ढिस्को र स्तम्भसमेत नक्कल गरेर उता 'भग्नावशेष' बनाइँदै छ । निर्माण पुरानो देखाउन पुराना भारतीय घरमा प्रयोग भएका इँटा किन्नसमेत भारतले करोडौँ रुपैयाँ लगानी गरिसकेको अलिगढवाका स्थानीय वासिन्दाले बताए । तर, कसैले पनि आफ्नो नाम भने बताउन चाहेनन् ।

कपिलवस्तुको सदरमुकाम तौलिहवाबाट २४ किलोमिटरको सडकदूरीमा अलिगढवा राज्यअन्तर्गत पीपरहवामा यो निर्माण भइरहेको छ । भारतले गौतमबुद्धको वास्तविक मावलीगाउँ देवदह, जन्मस्थान लुम्बिनी र दरबार तिलौराकोटबीचको दूरी पनि नेपालमा जस्तै बनाइएको छ ।
राजा शुद्धोधनका पालाका भेटिएका माटाका भाडालगायतका अधिकांश वस्तु तथा ठाउँसमेत भारतले नक्कल गर्दै उतै बनाइरहेको छ । माटाका भाँडा र वस्तुमा पुरानोजस्तै देखिने लेप पनि लगाइँदै छ ।
भारतले नक्कली कपिलवस्तु निर्माण गरिरहेको जानकारी जनस्तरबाट पाए पनि नेपाल सरकार भने मौन छ । तर, वास्तविक कपिलवस्तुबासी र बौद्धधर्मालम्बीले भारतको यो प्रयास दुखद् र निन्दनीय भनेका छन् । बुद्ध भारतमा नै जन्मिएको भनेर दाबी गर्दै 'पुरातत्त्व' नै निर्माण गर्ने भारतीय प्रयासका बाबजुद नेपाल सरकार मौन रहनु दुःखदायी भएको बताउँछन् पुरातत्त्वविद् वसन्त विडारी ।
भारतले कपिलवस्तुको तिलौराकोट, कुदान, अशोकस्तम्भलगायतका बुद्धस्थल अवलोकनका लागि भारतीयमार्ग भएर आउने पर्यटकलाई भ्रमित गर्ने र उतै राख्ने उद्देश्यले यस्तो निर्माण गरिएको कपिलवस्तुका वासिन्दाको भनाइ छ । संस्कृतिकर्मी प्रेमनारायण पाण्डेले भने, 'उसैले धेरै किताब छाप्छ, उसैले धेरै प्रचार गर्छ, पयर्टक त भ्रममा पर्ने भए अब ।'
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शम्भु घिमिरेले भने आफू भारत नगएकाले यस्तो जानकारी नपाएको बताए । 'खोइ, म त भारततिर गएको छैन, त्यस्तो जानकारी छैन,' उनले भने ।
कपिलवस्तुका प्रहरी उपरीक्षक शरद् चन्दले स्थानीयस्तरमा भन्दा पनि केन्द्रबाट नै समस्या समाधान गर्नुपर्ने बताए । 'यो राष्ट्रियस्तरको समस्या हो, दुई देशका नेताहरूले मिलाउनुपर्छ, हामीले यहाँ बसेर के बोल्ने ? के गर्ने ?' उनले भने ।
तर तौलिहवाका वासिन्दा तथा नेपाल विद्यार्थी संघका सहमहामन्त्री राजेश ज्ञवालीले भने भारतद्वारा निर्मित नक्कली कपिलवस्तु तथा लुम्बिनी र तिलौराकोट हटाउन नेपाल सरकारले पहल गर्नुपर्ने बताए । तर, नेपाल सरकारले औपचारिक रूपमा विरोध नगरेका कारण भारतले नक्कली कपिलवस्तुमा प्रत्येक डिसेम्बर २९, ३० र ३१ तारिखमा विभिन्न कार्यक्रम गरी बुद्धमहोत्सव मनाउँदै आएको छ । गत डिसेम्बरमा पनि बुद्धमहोत्सव मनाइएको थियो ।
भारतका अनुसार देवदह, लुम्बिनी र तिलौराकोटलाई व्यवस्थित गर्न भारतले दसवर्षे नीति ल्याएको भए पनि करिब ५ किलोमिटरको क्षेत्रमा भारतले ८० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको छ ।
अब भारतको यो कार्यको बिरोध कसले गर्ने ?? तपाइले मैले वा सरकारले कि हामी सारा नेपालीले?? प्रश्न तपाइलाई अनि कुर्सीका लागि लड्ने नेताहरुलाई, जवाफ को संग छ ??

2 प्रतिकृयाहरु:

Mahesh said...

सालेहरु। यो दोश भारतको भन्दा बढी त नेपाली स्वार्थी नेताको पो हो त

rambahadur said...

साला सबै नेताहरुलाई भारततिर खेद्नु पर्छ अनि हामी जनताले नै भारतको यो कामको बिरोध गर्नुपर्छ |

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks