Wednesday, May 12, 2010

अब झन्डा नबोक्ने जनताको मर्का कसले बुझ्ने, जंगली जनावरले?

सन्तोष रिमाल, काठमाडौं, वैशाख २९- नेपाली आकासमा निजी कम्पनी विमानहरूको चुरीफुरी बढ्दो छ। तर, सरकारी विमानको हालत भने पखेटा काटिएका पन्छीहरूको जस्तो छ। हिजोआज टिभीमा 'मुटु चाहिन्छ मुटु' भन्दै छाइरहने कलाकार तथा विमानचालक विजय लामाले मंगलबार नागरिकसँग यही विषयबाट कुराकानी सुरु गरे।
'नेपाल वायुसेवा निगमको स्थिति खस्कनुमा दोषी को?' यो पहिलो प्रश्नमा निगमका क्याप्टेन विजयले ढाकछोपको प्रयास गरेनन्, 'हामी कर्मचारी नै हौं। दोषबाट पन्छिन अरूलाई किन औंला देखाउनु?'

कर्मचारीमाथि राजनीति हावी हुनाले एकअर्कामा विभाजित भएको उनले अनुभव गरेका छन्। उनलाई लाग्छ व्यवसायिक सफलताको तगारो यही हो।
'युनियन धेरै भए। युनियनहरूले गर्दा निगम व्यावसायिकभन्दा राजनीतिक थलो बन्यो,' उनले भने, 'आवाजको गतिमा चल्नुपर्ने निगममा झटपट निर्णय हुनुपर्ने हो।' तर, निगममा पञ्चभेलाले जसरी निर्णय गर्ने शैलीदेखि उनी दिक्क छन्। पछि पर्नुको एउटा कारण यसैलाई मान्छन्।

'सबैको राय बुझेर निर्णय गर्न खोज्दा लामो समय लाग्छ। २१ औं शताब्दीको एयरलाइन्स क्षेत्रको बाधक भनेकै ढिलसुस्ती हो,' अरु कार्यालयजस्तै सरकारी पाराले निगमलाई पनि सताएको उनले दोहोर्‍याए।
निगम माथि उठ्न सकेन, कर्मचारीका नाताले विजय दुःखी छन्। तर, उनको नजरमा निगमको यो स्थिति एउटा सानो घाउमात्र हो। देशलाई शरीर निगमलाई एउटा अंग मान्दै उने भने, 'शरीर तन्दुरुस्त भए पो सानातिना रोगले छुँदैन। हाम्रो त देशै बिरामी छ।'

उनले आफ्नै अनुभव सुनाए, 'म भरिएको जहाज उडाएर विदेश जान्छु। फर्किदा खाली हुन्छ।' देश छाड्ने युवामात्र होइन अहिलेको परिस्थितिले यात्रा छोट्याएर स्वदेश फर्कने पर्यटकप्रति समेत उनी संकेत गर्दैथिए। 'देशको अवस्था राम्रो नभएपछि सबैतिर यस्तै हो। भ्रमण छोट्याएर फर्कने पर्यटकको लर्कोले नै यो देशको अवस्था चित्रण गर्छ,' उनले भने।



धेरै नेपालीलाई विदेश पुर्‍याएका यी पाइलट आफूले विदेशिने सपना भने कहिल्यै नपालेको बताउँछन्। 'नेपाली हुनुमा गर्व गर्ने व्यक्ति हुँ म। तर, अब त नेपाली हुँ कि होइन भन्नेमा शंका लाग्न थाल्यो,' एकीकृत माओवादी अध्यक्ष प्रचण्डले शनिबार गरेको भाषणपछि उनले व्यक्त गरेको प्रतिक्रिया हो यो।
'जनता हुन त कि माओवादीमा लाग्नुपर्ने रहेछ। कि सरकारको मान्छे भएर उनीहरूको प्रतिकारमा उत्रनुपर्ने रहेछ,' विजयले प्रश्न गरे, 'मजस्तो समर्थन र प्रतिकारको खेलमा नलाग्नेहरूलाई स्वतन्त्र नागरिक भएर बाँच्ने अधिकार छैन?'

'कित्ता क्लियर' गर्ने बहानामा उनका केही सहकर्मी कलाकार माओवादी प्रवेश गरे। ६ दिने आमहडतालमा उनीहरूको 'सडक कलाकारिता' राम्ररी नियालेका रहेछन् विजयले। पर्दामा राम्रो कला देखाउनेले सडकमा प्रदर्शन गरेको कला उनलाई मन परेन।

'ती सबैका प्रिय कलाकार थिए। सबैको मान्छे हुन छोडेर उनीहरू किन एउटा पार्टीको हुन गए मैले बुझिन। फराकिलो छवि किन घटाउन मन लागेको होला!' उनले आफ्नो भनाइ राखे, 'मान्छे हजारपटक होइन एकपटक मर्छ। म कुनै पार्टीको कार्यकर्ता होइन नेपाली भएर मर्छु।'

केही कलाकर्मी आन्दोलनको उचाइ बढाउन लागिरहँदा उनी शान्तिर्‍यालीमा सहभागी थिए। जसको प्रभाव स्वरूप हडताल स्थगित भयो। त्यो खबरले उनलाई जति खुशी बनायो त्यतिकै दुःखी भएँ भन्छन् माओवादी अध्यक्ष प्रचण्डको भोलपल्टको भाषणले।

'नागरिक समाज, व्यापारी, बुद्धिजीवी सम्मिलित शान्तिर्‍यालीलाई भिजिलान्ते भन्नु साह्रै आपत्तिजनक भनाइ हो,' उनले बिमति पोख्दै गए, 'यदि त्यो भिजिलान्तेको भीड थियो भने किन कसैलाई नपकडेको? त्यति ठूलो पार्टीको नेताले बोल्दा विचार पुर्‍याउनुपर्छ।'

प्रचण्डको भाषणमा मैलालाई सुकिलो बनाउने चाहना भेटेनन् उनले। 'उनी मैलालाई सुकिला होइन सुकिलालाई मैला बनाउने दिशातिर बढ्न खोज्दैछन् जस्तो लाग्यो,' उनी समानताकै विषयमा पोखिए एकछिन, 'सबै जनता बराबर हुनै सक्दैनन्। बरु अवसरचाहिँ समान बनाउन सकिन्छ।'

त्यसो त उनलाई प्रधानमन्त्री माधव नेपालको शैली पनि मन परेको छैन। 'उद्योगीव्यवसायीहरू समस्याको पोको बोकेर पुगे। तर, उनी उल्टै सर्पलाई दूध पिलाएको आरोप लगाउँदै कड्किए,' उनले भने, 'कुखुरा नबास्दै सिंहदरबार छिर्ने मन्त्रीहरूको नियति जनतासामु छिपेको छैन। उनीहरूले आफ्नै सुरक्षाको प्रत्याभूति गर्न सकेका छैनन्, जनताको के गर्लान्?'

ठूलो पार्टी र सरकारको मारमा जनता पिल्सिएकोमा उनले दुःख प्रकट गरे। कुनै पार्टीले नछोएको जनताको अवस्थाप्रति उनलाई चिन्ता छ। 'अब झन्डा नबोक्ने जनताको मर्का कसले बुझ्ने, जंगली जनावरले?' विजयले प्रश्न गरे।

प्रधानमन्त्री र प्रचण्डको टक्करका कारण जनताले दुःख पाएको आरोप उनले निर्धक्क लगाए। 'उनीहरूले गद्दीको शासन चलाएका छन्। यसमा जनता मर्नु ठूलो कुरा रहेन,' यति बोलेपछि उनी आफ्नो टिभी कार्यक्रम 'ब्ल्याक एन्ड ह्वाइट'को सुटिङमा लागे, जहाँ उनी सेलिब्रिटीमार्फत् समाजको चिरफार गर्छन् |

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks