Sunday, May 2, 2010

राष्ट्र निर्माणमा युनिटी र न सुबिधा न पैसा फिर्ता

आज एकै दिनका दुइ प्रमुख दैनिक पत्रिकाहरुमा प्रकाशित समाचारहरुको हेड लाइन हुन् यी | पहिलो राष्ट्र निर्माणमा युनिटी लाईफ शिर्षकको बिज्ञापन भनौं वा समाचार भनौं  गोरखापत्रमा प्रकाशित भएको थियो भने दोस्रो  न सुविधा, न पैसा फिर्ता शिर्षकको समाचार भने नागरिक दैनिकमा प्रकाशित भएको हो | तपाइले पहिलो समाचार यहाँ हेर्न सक्नुहुन्छ भने दोस्रो समाचार जस्ताको तस्तै तल हेर्नुस :

रोशन साँवा, इलाम, वैशाख १९-  एस्योरेन्स युनिटी लाइफ इन्टरनेशनल प्रालिले आजिवन निशुल्क स्वस्थ्य सुविधा दिने भन्दै १० देखि १५ हजार सात सय ५० रुपैंया लिएर 'स्वस्थ्य सदस्य' बनाएको छ। यसरी स्वास्थ्य सदस्य बन्नेले एक पैसा पनि फिर्ता पाउँदैनन् र बिमा सुविधा पनि हुँदैन।

गत असोजमा इलाम सदरमुकाममा सञ्चालित १५ शैयाको युनिटी लाइफ अस्पतालमा मापदण्डअनुसार जनशक्ति तथा प्रभावकारी सेवा नभएको पाइएको छ। सो अस्पतालले मापदण्डअनुसार आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी राखेको छैन।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख एवं जिल्ला अस्पताल इलामका मेडिकल सुपरिटेन्डेन्ट डा. तारानाथ पोखरेलले १५ शैयाको अस्पतालमा कम्तिमा तीन जना एमबीबीएस गरेका चिकित्सक, छ जना नर्स, दुई जना हेल्थ असिस्टेण्ट, दुई जना अहेव हुनुपर्छ। तर युनिटी लाइफ अस्पतालमा एमबीबीएस चिकित्सक एक, दुई जना नर्स, एक जना हेल्थ असिस्टेण्ट र दुई जना अहेव छन्।

एस्योरेन्स युनिटी लाइफ इन्टरनेशनल प्रालिले आजीवन निःशुल्क स्वास्थ्य सुविधा दिने भन्दै १० देखि १५ हजार सात सय ५० रुपैयाँ लिएर 'स्वास्थ्य सदस्य' बनाएको छ। तर, यसरी स्वास्थ्य सदस्य बन्नेले एक पैसा पनि फिर्ता पाउँदैनन् र विमा सुविधा पनि हुँदैन।

कम्पनीले इलाम सदरमुकाममा सञ्चालन गरेको युनिटी लाइफ अस्पतालका प्रशासकीय अधिकृत पुष्प खड्काले स्वास्थ्य सदस्यलाई बैंकिङ सदस्यलाई जस्तो बचत र विमाको सुविधा नहुने बताए। 'स्वास्थ्य सदस्य हुने परिवारका सदस्यले पनि अस्पतालमा २५ प्रतिशत छुटमा स्वास्थ्योपचार सेवा पाउँछन्,' उनले भने। 'अस्पताल जाने कहिलेकाहीं त हो, औषधीको पैसा तिर्नैपर्छ, एकमुष्ठ पैसा तिरेर सोझै ठगिएका रहेछौं नि,' एक स्वास्थ्य सदस्यले भने।

युनिटीका स्वास्थ्य सदस्य बरबोटेका बालकुमार श्रेष्ठले अस्पतालले दिने स्वास्थ्य सुविधा पनि चित्त नबुझेको बताए। 'दुई महिनाअघि अचानक विरामी भएर अस्पताल पुग्दा सदस्यताको कार्ड मसँग थिएन, सदस्य हुँ भन्दा पनि छुट दिएनन्। महँगो पनि लाग्यो,' उनले भने। उनले त्यसपछि युनिटी अस्पतालमा जानै छाडेको बताए। युनिटीको इलाम शाखाले स्वास्थ्य सदस्यको संख्या केन्द्रबाट मात्र उपलव्ध हुन सक्ने जनाएको छ।

युनिटी लाइफ अस्पतालले दिने सेवासुविधाका बारेमा पनि प्रशस्तै गुनासो सुनिन थालेको छ। अस्पतालको प्रयोगशाला त अझ झन् भरपर्दो नभएको सेवाग्राहीले बताएका छन्। 'युनिटी लाइफ अस्पतालले रगत ए पोजेटिभ भनेर पठाएको मान्छेको यहाँ पुनः परीक्षण गर्दा एबी पोजेटिभ देखियो,' जिल्ला अस्पताल इलामका प्राविधिकले भने। युनिटीकै एक सदस्यले युनिटी अस्पतालमा र जिल्ला अस्पतालमा रगतको आरबीसी (रेड ब्लड सेल) गणना गर्दा अलगअलग नतिजा आएको बताए। 'युनिटीमा आरबीसी १९ हजार देखायो, लगत्तै जिल्ला अस्पतालमामा परीक्षण गर्दा ११ हजार देखियो जुन नर्मल रहेछ। १९ हजार हुँदा त थान्को नै लागिने रहेछ,' उनले बताए।

अरु अस्पतालमा उपचार गराएर आएको विरामीलाई युनिटी अस्पतालले नलिने गरेको पनि सेवाग्राहीले जनाएको छ तर युनिटी अस्पतालका प्रशासकीय अधिकृत खड्काले सबैलाई सेवा दिन अस्पताल खोलिएकोले त्यसरी नफर्काउने गरेको दाबी गरेका छन्।

युनिटी लाइफ अस्पतालले सदस्यलाई उपचार खर्चमा २५ प्रतिशत छुट दिने गरेको छ तर उसले छुट दिंदा पनि अन्य अस्पतालको भन्दा महँगो पर्छ। युनिटी अस्पतालले ओपीडी दर्तामा लाग्ने ५० रुपैंया दर्ता शुल्कमा सदस्यलाई पनि छुट दिंदैन। इमरेजेन्सीमा एक सय ५० रुपैयाँ, शैया शुल्क दुई सय रुपैयाँ लिन्छ र सदस्यलाई दुवैमा २५ प्रतिशत छुट छ र औषधीमा छुट छैन। नजिकै रहेको डा. मेघबहादुर पराजुली सामुदायिक अस्पतालले ओपीडीमा दर्ता शुल्क ५०, इमरजेन्सीमा एक सय र शैया शुल्क ५० देखि एक सय २५ रुपैयाँ लिन्छ। जिल्ला अस्पताल त सरकारी हुनाले सरकारले दर्तालगायत धेरैमा निःशुल्क र छुट सुविधा दिएको छ।

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks