Sunday, October 4, 2009

नक्कली एसएमएसले मोबाइल ग्राहक ठगिए

रामचन्द्र भट्ट, काठमाडौं, असोज १८- आइतबार दिनभरि नेपाल टेलिकमका अधिकांश मोबाइल उपभोक्ताले एक खालको सन्देश प्राप्त गरिरहे। मोबाइल उपभोक्ताले प्राप्त गरेको सन्देशको व्यहोरा थियो, 'आज टेलिकमले मोबाइल टेलिफोन सुरु गरेको १० वर्ष पुरा गरेको अवसरमा १० जनालाई यस्तो एसएमएस पठाउँदा २ सय रुपैयाँको रिचार्ज निःशुल्क पाउनेछन्।'

२ सय रुपैयाँको रिचार्ज निःशुल्क पाउने लोभमा धेरैले आफ्ना साथी, आफन्तलाई त्यही सन्देश पठाए। दिनभरि कुर्दा पनि त्यस्तो सन्देश पठाउनेको मोबाइलमा २ सय रुपैयाँ थपिएन।
'मेरो मोबाइलमा १० जनालाई एसएमएस पठाउँदा दुईसय रुपैयाँ व्यालेन्स थपिने म्यासेज आयो,' भूमिसुधार मन्त्रालयका सहसचिव बेगेन्द्र पौडेलले नागरिकसँग भने। २ सय रुपैयाँ थपिइहाल्छ कि भन्ने आशामा उनले १२ जनालाई त्यही म्यासेज पठाएका थिए। 'दिनभरि कुर्दा पनि व्यालेन्स नथपिएपछि मैले ठगिएको महसुस गरे,' पौडेलले भने।


टेलिकमले मोबाइल टेलिफोन सुरु गरेको १० वर्ष पुगेको तथ्य साँचो हो। तर १० वर्ष पुरा गरेको आइतबार नभै गत वैशाखमै हो। २०५६ वैशाखबाट नेपालमा मोबाइल टेलिफोन सुरु भएको हो।

त्यस्तो सन्देश पठाउने मध्य केहीले साथीभाइ र आफन्तलाई मुर्ख बनाउन पनि पठाएको बताएका छन्। 'मलाई अफिसकै सहकर्मी दिदीले पठाइन्, मलाई विश्वास त लागेको थिएन साथीहरुलाई जिस्क्याउनकै लागि मैले पनि २/३ जनालाई पठाइदिए,' बालाजु नेपालटारकी गायत्री भट्टले भनिन्।
कतिपयले भने दायाँबायाँ केही सोधीखोजी नै नगरी धमाधम १० जनालाई म्यासेज पठाएका थिए। उनीहरुको मोबाइलमा २ सय थपिनुको बदला बेफ्वाँकमा १० वटा म्यासेजको ६ रुपैयाँ ३० पैसा खर्च भयो।
टेलिकमले चाडपर्बको समयमा एसएमएसमा आधा छुट दिएको समय भएर मात्र १० वटा म्यासेजको ६ रुपैयाँ ३० पैसा मात्र खर्च भएको हो। अरु समय भए एउटै म्यासेजको १ रुपैयाँ २५ पैसा खर्च हुन्थ्यो।
मोबाइल उपभोक्ताका अनुसार शनिबार साँझदेखि नै यस्तो खालको म्यासेज आउन थालेको हो। आइतबार साँझसम्म नै यस्तो खालको म्यासेज आउने क्रम जारी थियो। २ सय रुपैयाँ व्यालेन्स थप्ने होडबाजीमा कतिपयले त पोस्टपेड मोबाइलका उपभोक्तालाई समेत म्यासेज पठाएका थिए।
त्यस्तो म्यासेज पूरै नक्कली हुन्,' टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले भने। उनले टेलिकमले उपभोक्ताको लागि दिने छुटलगायतका सुविधाबारे प्रेस विज्ञप्ति र सार्वजनिक सञ्चार माध्यमबाटै पूर्व सूचना गरिरहेको समेत बताए।
व्यालेन्स थपिने आशामा कति ठगिए भन्ने बारेमा विवरण भने टेलिकमसँग छैन। सामान्य अवस्थामा दैनिक ९ लाख वटा एसएमएस टेलिकमका उपभोक्ताले गर्छन्। आइतबार गरिएको एसएमएको रेकर्ड सोमबारमात्र हेर्न मिल्ने हुँदा पत्ता लगाउन नसकिने टेलिकम अधिकारीहरुले बताए।
एसएमएसमा लेखिएको सन्देशको आधारमा टेलिकमले रोक्न सक्दैन। त्यस्तो प्रविधि टेलिकमसँग छैन। 'एउटा उपभोक्ताले अर्कोलाई जेसुकै विषयमा पनि एसएमएस पठाउन सक्छ, टेलिकमको प्रविधिले फिल्टर गर्न सक्दैन,' थिकेले भने।

SOURCE: NAGARIKNEWS

1 प्रतिकृयाहरु:

Anonymous said...

हैन यो बेगेंद्र पौडेललाइ थाहा रहेनाछ कि क्या हो १० वर्ष पुरा गरेको आइतबार नभै गत वैशाखमै हो भनेर हैन यस्तो मान्छे कसरि मन्त्रालयको सहसचिव भएछ |

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks