Wednesday, October 14, 2009

बबन सिंहद्वारा पहाडे पत्रकारलाई नछोड्ने चेतावनी

संविधानसभाका सभासद् बबन सिंहले मधेसका बारेमा समाचार नलेखेको आरोप लगाउँदै आक्रोशमा तराईमा कार्यरत पहाडी समुदायका पत्रकारलाई ‘त्यसै नछोड्ने’ चेतावनी दिएका छन्।
तराई-मधेस लोकतान्त्रिक पार्टीको मधेस जागरण अभियानका क्रममा मंगलबार बाराको जितपुरमा आयोजित आमसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी र केन्द्रीय सदस्य जितेन्द्र सोनलसहित आएका सिंहले सभामा बोल्दै मधेसको समाचार नलेख्ने ‘पहाडिया’ पत्रकारहरूलाई नछोडिने बरु ‘छठीको दूध पिलाइदिने’ बताए।

तराईका भोजपुरीभाषी समुदायमा बदला लिनुअघि चेतावनी दिने क्रममा आफ्ना शत्रुहरूलाई ‘छठीको दूध पिलाइदिने’ भनेर धम्काइने गरिन्छ।

सभासद् सिंह सञ्चारकर्मीहरूलाई धम्की दिइरहँदा मञ्चमा रहेका पार्टी नेताहरूले भने कुनै प्रतिक्रिया जनाएनन्। सभासद् सिंहले मधेसको लागि सबैभन्दा ठूलो दुश्मन पहाडे पत्रकार भएको आरोपसमेत लगाएका थिए। ‘यस्तालाई तह नलगाएसम्म तराईको विकास हुँदैन’ -उनले भने। सभासद् सिंहले सञ्चारकर्मीहरूलाई गाली गरिरहँदा पार्टी कार्यकर्ता र सभामा सहभागीहरूले ताली बजाएर स्वागत गरेका थिए।

मधेसका बारेमा समाचार लेख्न छुट्टै मधेसी पत्रकारको आवश्यकता रहेको समेत सिंहले सुनाए। ‘हामीसँग आफ्ना पत्रकार छैनन्, मधेस पछाडि पर्नुको कारण मधेसी समुदायका सञ्चारकर्मीहरूको कमी हुनु पनि हो’ -उनले भनेका थिए।

दीपावली र छठको शुभकामना दिँदै आफ्नो मन्तव्य शुरू गरेका सिंहले अधिकांश समय मधेसी-पहाडीबीचको साम्प्रदायिक सद्भाव धमिल्याउने कुरामा खर्चेका थिए। पहाडी समुदायका सञ्चारकर्मीहरू साम्प्रदायिक भावनाले ग्रसित रहेको पनि उनको आरोप थियो।

मधेसका विभिन्न भूमिगत समूहहरूको धम्की खप्दै आएका सञ्चारकर्मीहरू सिंहले पोखेको आक्रोश सुनेर थप त्रसित बनेको अन्नपूर्ण पोस्ट बाराका संवाददाता दिवाकर भण्डारीले बताए। समाचार संकलन गर्न बोलाएर उल्टै धम्की दिन थालेपछि कार्यक्रममा उपस्थित पत्रकारहरूले असुरक्षित महसुस गरेर सभास्थल छोडेर हिँडेको भण्डारीले जानकारी दिए। आयोजकले सञ्चारकर्मीहरूलाई अतिथि बनाएर मञ्चमा आसनग्रहण गराएको थियो।

यसैबीच नेपाल पत्रकार माहासंघको बारा शाखाले सभासद् सिंहको चेतावनीप्रति आपत्ति जनाउँदै भर्त्सना गरेको छ। तराईमा पहाडी समुदायका पत्रकारप्रति जोखिम बढ्दै गएको समयमा सभासदबाट आएका यस्ता अभिव्यक्ति झनै घातक हुने शाखा अध्यक्ष गुरु गौतमले बताए।
स्रोत : नेपाल समाचारपत्र

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks