Thursday, November 12, 2009

दुई बन्दुक र दुई सेना घातक : कमल थापा

गणतन्त्रको विचारले पनि देश टुक्रन्छ
चाँदनी हमाल, कात्तिक २६- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले दुई बन्दुक र दुई सेना शान्ति प्रक्रियाका लागि सबैभन्दा घातक भएको बताएका छन्। उनले यी दुई तत्त्व कायम रहेसम्म मुलुकमा दिगो शान्ति छाउन नसक्ने दाबी पनि गरे।
राप्रपा नेपाल चितवनद्वारा बिहीबार चितवनको भरतपुरमा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले गणतन्त्र र राजतन्त्र देशमा अहिले पनि दुई विचारको बाहुल्यता रहेको बताए । प्रचण्ड भनेको गणतन्त्र हुन् र कमल थापा भनेको संवैधानिक राजतन्त्र हुन, उनले अगाडि भने- गणतन्त्र ल्याउने त कुरै नगरौ, त्यसको विचारले पनि देश टुक्रिन्छ।

उनले अहिलेको सरकारले नयाँ नेपाल निर्माणमा कुनै लछारपाटो नलगाउने बताए। दिनानुदिन देशको अवस्था नाजुक भैरहेको बताउँदै उनले यो सरकार पनि विगतको भन्दा फरक नहुने ठोकुवा गरे।

माओवादी सरकारले केही गर्छ कि भन्ने जनताको आशा नौ महिने कार्यकालले देखाइसकेको भन्दै उनले अबको सरकार पनि पुरानै अनुहार भएकाले जनताको आशा मरिसकेको बताए। जनताको भावनाअनुसारको काम नगरेर तीन ठूला दल पार्टी स्वार्थमा लागेको बताउँदै उनले दलहरुले सरकार र आन्दोलनलाई नै महत्व दिएकाले हरेक नेपाली स्वतन्त्र रहन्छ भन्नेमा शङ्का रहेको उल्लेख गरे।

अहिलेको आवश्यकता सरकार बनाउने वा गिराउनेभन्दा जनताको नयाँ संविधान कसरी बनाउने भन्नेमा केन्द्रित हुनुपर्नेमा राष्ट्रलाई युद्धको भुमरीमा दलहरुले आफैं फसाउँदै लगेको थापाको भनाई थियो। संविधान निर्माण भाँड्ने काम कङ्ग्रेस र एमालले नै गरिरहेको आरोप लगाउँदै उनले दलहरुले लोकतान्त्रिक पद्धति बिर्संदै गएको बताए।

जनताको चाहनाअनुसार देशमा शान्ति सुरक्षाको प्रत्याभूति नभएको उनको धारणा थियो। शान्ति प्रक्रियाले पनि अहिले अर्कै मोड लिएको उल्लेख गर्दै उनले समयमै दलका नेता सजग नभए नेपालको अस्तित्व खतरातर्फ उन्मुख हुने औल्याए|

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks