Saturday, September 19, 2009

आज घटस्थापनादेखि बडादसैँ प्रारम्भ

हिन्दूहरुको महान् चाड बडादसैं आजदेखि सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म पन्ध्र दिन परम्परानुसार दुर्गा भवानीको पूजा–आराधना गरी हर्षोल्लासका साथ बडादसैं मनाइन्छ।
बडादसैंको पहिलो दिन आज बिहान आ–आफ्ना घरको पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ।
विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीकाग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ।

जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ–आफ्ना घरआँगनलाई लिपपोत गरीनुका साथै सिँगारेर सफासुग्घर राखिन्छ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरिन्छ।
बडादसैँको सातौँ दिन मुलुकभर धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइने, महाअष्टमी र महानवमीका दिन दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित विशेष पूजा गरिने, विजयादशमीका दिन नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका लगाउने र कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरी साँझ महालक्ष्मीको पूजा आराधना गरिने प्रचलन छ।
चाडभर विभिन्न देवदेवीका अतिरिक्त विशेषगरी शक्तिस्वरूपा दुर्गा भवानीको पूजा गरिने भएकाले यो चाड दुर्गापूजाका नामले पनि प्रचलित छ।
परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठमा नवरात्रि पूजा आरम्भ गरिन्छ।
विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका परिवारका सदस्य सपरिवार बसेर दसैँ मनाउन घर फर्कने क्रम सुरु भइसकेको छ।
बडादसैँका अवसरमा आजदेखि मुलुकभरिका धेरैजसो शिक्षण संस्था र अदालत कोजाग्रत पूर्णिमा सम्मका लागि बिदा गरिएका छन्।

0 प्रतिकृयाहरु:

Post a Comment

लेखहरुमा कतिपय कमिकमजोरी हरु हुन सक्छन कृपया लेखलाई कसरी अझ सुधार्दै जान सकिन्छ भन्ने बारेमा तपाईंहरुको सुझावको आशा गर्दछौ । कृपया तपाईंको सुझाव तथा गुनाशाहरु तलको कमेन्ट बक्समा लेख्नुहोला अथवा हामिलाई nepalikonepaliaawaz@gmail.comमा mail गर्नुहोला ।

Linking Networks