Showing posts with label Sport/Game. Show all posts
Showing posts with label Sport/Game. Show all posts

Thursday, November 5, 2009

खेलमा हैन, खेलाडीको रूचि नङ पालिसमा

लन्डन, कात्तिक १९ (एजेन्सी)- बेलायतका टेबलटेनिस प्रदर्शन निर्देशक स्टिन हेन्सनले बेलायती महिला खेलाडीहरू आफ्नो खेल सुधार गर्नु भन्दा नङ पालिसमा बढी रुचि दिने गरेको आरोप लगाएका छन्।

प्रभावशाली डेनिस प्रशिक्षक महिला खेलाडीले आलोचना सहन नसक्ने भएकाले पुरुषको तुलनामा कम भएको बताउँछन्। 'उनीहरू नङमा पालिस लगाउन बढी रुचाउँछन्,' उनले बेलायती युवा प्रतिभा अभिभावकको नियन्त्रणमा रहेको समेत बताए। हेन्सनले राष्ट्रिय फन्डिङ निकायको आलोचना गर्दै बेलायती अभिभावकहरू बढी कडा र हस्तक्षेपकारी भएको आरोप लगाए।

हेन्सनले हालै मात्र टेबलटेनिसको बजेटमा ५० प्रतिसतले कटौती गरेकोमा बेलायती खेलसंस्थाको आलोचना पनि गरे।
हेन्सन पहिलो पटक सन् २००१ मा बेलायती टेबलटेनिससँग काम गर्न आएका थिए। सेफिल्डस्थित इङ्लिस इन्स्टिच्युट अफ स्पोर्टसमा बेलायती १२ युवा प्रतिभालाई प्रशिक्षण दिइरहेका ५८ वर्षीय हेन्सनले २०१२ को ओलम्पिकमा स्वर्णका लागि प्रयास गरिरहेको बताएका छन्।

'युवतीहरूलाई प्रशिक्षण दिन बढी गाह्रो हुन्छ र मेरो विचारमा सबै खेलमा यस्तै हुने गर्छ,' हेन्सनले भने, 'केटाहरूको हकमा उनीहरूलाई पुस्तकमा भएको हरेक नामले बोलाउन सकिन्छ र यो व्यक्तिगत नभएको उनीहरूले राम्ररी बुझ्ने गर्छन्।'

'तर युवतीलाई त्यसो गर्ने हो भने जीवनभरका लागि दुश्मन पाइन्छ। उनीहरूले आलोचना सहन सक्दैनन्।'
हाल तीन सातादेखि सेफिल्डमा प्रशिक्षण प्राप्त गरिरहेका १८ वर्षमुनिका तीन खेलाडीको जिम्मा लिएका हेन्सनले अगाडि भने, 'मैले थुप्रै मुलुकमा काम गरेको छु। सबैभन्दा खराब अभिभावक यहाँको पाएँ।'



'उनीहरू बढी हस्तक्षेपकारी र हरेक समय प्रश्न मात्र सोधिरहने खालका हुन्छन्। मलाई थाहा छ उनीहरू निकै राम्रो भएको चाहन्छन्, तर बढी हस्तक्षेपकारी हुँदा केटाकेटीमा दबाब बढ्न सक्छ,' उनको बुझाइ छ।


आफ्नो बजेट कटौतीका सम्बन्धमा उनले भने, 'म चीन जाँदा उनीहरू म नजिक आएर तिमीले बेलायती टेबलटेनिसका लागि राम्रो काम गरिरहेका छौं भन्दै मलाई धाप मार्छन्। अनि यता हाम्रो बजेटमा कटौती गरेको छ। यो साँच्चै नै अविश्वसनीय छ।'
स्रोत:nagariknews.com

Linking Networks